अरमानको र्‍याप गीत ‘भावना’ सार्वजनिक(भिडियो)



काठमाडौं । अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गरे । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताए ।

अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् । दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ ।