डब्बु र दीपकको ‘जिस्केर मस्केर’ सार्वजनिक (भिडियो)



काठमाडौं। गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर…’को भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका छन् ।

सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई सँकलन गरेर यो गीत बनाएको यसका गीतकार डब्बु क्षत्रीले बताएका छन् । बिलक्षण क्रियसनले निर्माण गरेको गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ । गीतको भिडियोको छायाँकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो । यसरी हिमालदेखि तराईसम्म छायाँकन गरिएको यो गीतमा ताप्लेजुङको पाथीभरा देवि, कन्याम र झापाको चियाबगन, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई यो भिडियोमा कैद गरिएको छ ।

सार्वजनिक भिडियोलाई माधवराज खरेलले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा तिलक रिजालको छायाँकन, विकाश राउतको ड्रोन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रँग सँयोजन रहेको छ ।