काठमाडौँ । चलचित्र विकास बोर्डका प्रवक्ता के.एल.बुढाथोकीले बोर्डले मोफसल केन्द्रीत कार्यक्रमहरु ल्याएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बुढाथोकीले बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा मोफसलमा बनेका चलचित्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताएका हुन् ।
बोर्डले मोफसलमा निर्माण भएका तीन वटा लघु चलचित्रलाई अनुदान दिने बताए । मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोष्ट प्रोडक्सन देखि प्रर्दशनी सम्म बोर्डले अनुदान सहयोग गर्नेछ । उनले चलचित्रका गतिविधिलाई कुनाकान्धारामा पुर्याउँने गरी बोर्डले मोफोसल केन्द्रीत कार्यक्रम ल्याएको बताए । उनले दुईवटा चलचित्र महोत्सव गर्ने र सिनेमाको पहुच विस्तार र सक्षारता बढाउँन देशका विभिन्न क्षेत्रमा घुम्ते सिनेमा कार्यक्रम गर्ने जानकारी दिए ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बोर्डले सामाजिक जागरण ल्याउने खालका तीनवटा लघु चलचित्र निर्माण गर्ने बताए । उनले विभिन्न संघसंस्थाको सहयोगमा बोर्डले जातिय छुवाछुत र सामाजिक कुप्रथा विरुद्धका लघु चलचित्र निर्माण गर्ने जानकारी दिए । त्यस्तै उनले बोर्डले यस वर्ष लघु चलचित्र प्रतियोगिता गर्ने, स्टोरी बैंक मार्फत देशभरीबाट उत्कृष्ट कथाहरु छानेर चलचित्र निर्माण गर्ने जस्ता कार्यक्रमहरु बोर्डले अघि सारेको बताए ।