कलेज पोशाकमै चलचित्र ‘बगान’का दर्शकसँग साक्षात्कार गर्न पुगिन् अभिनेत्री करिष्मा



काठमाडौं। अभिनेत्री करिष्मा मानन्धर सोमबार भक्तपुरको राधेराधे स्थित रहेको क्युएफएक्स सिनेमा हलमा भेटिइन् । बिहानको कलेज पढिसकेर चलचित्र बगानका दर्शकसँग साक्षात्कार लागि उनी कलेज ड्रेसमै त्यहाँ पुगेकी थिइन् । एकल महिलाको संघर्षशील यात्रालाई पर्दामा उतारिएको चलचित्र बगानमा करिष्माले विद्यार्थीको भूमिका पनि निर्वाह गरेकी छिन् । जन विषय उनको वास्ताविक जीवनमासँग पनि मेल खाएको छ । तर सोमबार भने उनी वास्तवीक कलेज पोशाकमै आफ्ना प्रशंसकहरूबाट घेरिन पुगिन् । उनले सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै कलेज पोशाकमै दर्शकहरूसँग साक्षात्कार गर्न पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘चलचित्रको पहिलो हाफमा आफूले विद्यार्थीकै भूमिका निर्वाह गरेको र वास्तविक जीवनमा पनि आफू पढिरहेकाले यसले सकारात्मक उर्जा दिइरहेको छ।’

विशेष गरेर एकल महिला र उनीमाथि सामाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ भन्ने सन्देशसहितको ‘बगान’ले दर्शकको मन जितिरहेको र व्यवासायिक दृष्टिकोणबाट पनि राम्रो सफलता पाइरहेकाले त्यसमा आफू सन्तुष्ट रहेको करिष्माको भनाइ छ । ‘धेरै दर्शकले हेरिसक्नु भयो, कतिपयले हेर्न बाँकि पनि छ, जतिले हेर्नुभयो सबैले उत्साहित प्रतिक्रिया दिनु भएको छ,’ अभिनेत्री करिष्माले भनिन्,‘सामाजिक अभियान्ता, राजनीतिज्ञमात्र नभएर समाजका धेरै प्रतिनिधि पात्राहरूले चलचित्र हेरेर व्यक्तिगत र सामूहिक रुपमा सकारात्मक उर्जा भरिएका प्रतिक्रिया दिइरहनु भएको छ। यसले हाम्रो चलचित्र र निर्माण टिमलाई उत्साहित बनाएको छ।’

चलचित्र बगानको हल भिजिटमा अभिनेत्री मानन्धरसहित निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्री प्रमिला कार्की, निर्माता सुरेश वाग्ले सहितको टोली राधेराधे पुगेको थियो । अघिल्लो शुक्रबार अर्थात असार २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र बगान सोमबार ११औं दिनमा नेपाल भर प्रदर्शन भइरहेको छ ।