‘उपहार’ को मुख्य भुमिकामा मुकुन भुषाल अनुबन्धित



काठमाडौं। अभिनेता मुकुन भुषाल निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने चलचित्र ‘उपहार’को मुख्य भुमिकामा अनुबन्धित भएका छन् । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ हिट भएपछि मुकुनले लगातार चलचित्र साइन गरिरहेका छन् ।

आइतबार निर्देशक देउजा र व्यावसायी बलराम शाहीले मुकुनसँग कागजी सम्झौता गरेका हुन् । अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहने चलचित्र ‘उपहार’मा उनले अभिनेत्री थापासँग स्क्रिन सेयर गर्दैछन् । पहिलो पटक रेखा र भुषालबीच सिनेमामा सहकार्य हुन लागेका हो । चलचित्रमा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । आगामी भदौबाट छायांकनमा जाने ‘उपहार’मा अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको छ ।

रेखा फिल्म्स तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण हुने ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित हुने जनाइएको छ ।