विपीन र मिरुना को शीर्ष भूमिकामा बन्ने भो ‘ऊनको स्वीटर’



काठमाडौँ। केही वर्षयता कथावाचन शैलीका गीतमार्फत स्रोता–दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले फिचर फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको नाम, कलाकारसँगै टाइटल गीत सार्वजनिक गरिएको छ ।

नवीन चौहानको लेखन एवं निर्देशन रहने फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’पछि विपीन र मिरुनाको यो दोस्रो सहकार्य हुनेछ । साथमा एलेक्स पारस, परिक्षा लिम्बुसहितका कलाकारहरूको समेत अभिनय रहनेछ ।

फिल्मको छायांकन भने आगामी तिहारपछि मात्रै सुरु हुनेछ । कार्यक्रममा बोल्दै निर्देशक चौहानले आफ्नो माटोको सुगन्ध बोल्ने फिल्म निर्माण गर्ने प्रयास रहने बताए । ‘म्युजिकल फिल्म बनाइरहँदा फिचर फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोँच बनाइरहेको थिए’ उनले भने, ‘ आज फिल्म घोषणा गर्दा एकदमै भावुक र रमाइलो पनि महसुस भइरहेको छ । राम्रो र मौलिक फिल्म बनाउने प्रयास रहनेछ ।’

अभिनेता कार्की​ले यो फिल्म आफ्नो लागि विशेष हुने बताए । ‘नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ’ उनले भने, ‘यो फिल्ममा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विश्वस्त छु ।’ अभिनेत्री मगरले आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् ।

‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेकी थिए । झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भनिन् । क्यारेक्टर सुन्दा नै उत्साहित भएको बताउँदै उनले कहिले सुटिङमा जाने होला भनेर आतुर भइरहेको बताइन् । कार्यक्रममा गायक सुजन चापागाईँले टाइटल गीतको लाइभ प्रस्तुति समेत दिएका थिए । फिल्ममा सुजन र गायिका झुमा लिम्बुको गीत/संगीत निर्देशन रहनेछ ।

‘हाम्रो सपनाको सुरुवात तपाईँहरूलाई अगाडि राखेर गर्दैछौँ । हाम्रो गन्तव्यमा हजुरहरूको साथ सधैं रहन्छ भन्नेमा आशा छ । एउटा सपना बोकेर हिँडेका छौँ । तपाईँहरूलाई माया लाग्ने, मनपर्ने बनाउने कोसिस गर्नेछौँ ’– कार्यक्रममा सुजनले भने ।

फिल्मका लागि टाइटल गीत हर्क साउदले लेखेका हुन् । उनले गीत लेख्दाको अनुभव सुनाए, ‘हामीले गरेको हरेक काम तपाईँहरूले रुचाइ दिनुभएको छ । ऊनको स्वीटरको टाइटल गीतको ५ लाइन लेख्न २० धार्नीको फलामको चिउरा कुटेर एउटा तरबार बनाएजस्तो गाह्रो भएको थियो ।’ फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन् । चिन्तनराज भण्डारीले यस फिल्मलाई खिच्नेछन् ।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् । ब्याकराउण्ड संगीत निर्देशन कोबिद बज्रको रहनेछ भने फिल्मको पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् । आर्टमाण्डूमार्फत् ‘के माया लाग्छ र ?’, ‘तीनपाते’, ‘घुमीघुमी’, ‘फूलथुंगे रानी’, ‘चन्द्रमा’, ‘पाहुना हजुर’, ‘सुनाखरी’, ‘बटौली’ जस्ता म्युजिकल फिल्म निर्माण गरिसकेको छ ।