सरकारले दियो काभ्रेमा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति,बोर्ड अध्यक्षले दिए धन्यवाद



काठमाडौं । सरकारले काभ्रेको बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा– १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।

यो निर्णयपछि चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले सबै नेपाली चलचित्रकर्मीले सफलता प्राप्त गरेको बताए । केसीले भने, “आज म निकै खुसी छु । नेपाली चलचित्र क्षेत्रले नयाँ फड्को मार्नसक्ने योजनामा चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आएको पहिलो दिनदेखि इन्डोर छायाङ्कन स्टुडियोको लागि जुन मेहनत गरेँ, त्यसबाट आज हामी सबै चलचित्रकर्मीले सफलता प्राप्त गरेका छौँ भन्ने मैले महशुस गरेको छु ।” उहाँले आफ्नो कार्यकालको एक प्रमुख कामको रुपमा अत्याधुनिक स्टुडियो निर्माणको सो जग्गामा भ्रमण गरी र वन मन्त्रालयसहित सम्बन्धित विभिन्न निकायहरूसँग कयौँ पटक छलफल गरेको बताए ।

“नेपालको राष्ट्रिय चलचित्र उद्योगको हितको लागि नेपाल सरकारले गरेको यो निर्णयको हामी चलचित्रकर्मीले हार्दिक स्वागत गर्दछौँ । हामीले हाम्रो नेपाली चलचित्रको वृद्धि विकाससँगै पुरा नेपाललाई नै अन्तराष्ट्रिय चलचित्रहरुको लागि समेत खुला स्टुडियोको रुपमा प्रचारप्रसार गरिरहेका छौँ”, केसीले भने, “आगामी दिनमा पनि सरकारले यसैगरी नेपाली चलचित्रलाई सघाउँदै जानेछ भन्ने विश्वास लिएको छु । यो निर्णयको भागिदार नेपाल सरकारका सम्पूर्ण निकायहरुप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.