‘गोर्खा वारियर’ को भब्य प्रिमियरमा सहभागी हुन यूकेवासी उत्साहित



काठमाडौं। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएपछि युकेमा बस्ने नेपालीहरुमा उल्लास छाएको छ । ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन यूके, रेडिङ वासीहरुले बस नै रिजर्भ गरेर आउने भएका छन् । अहिले युकेको विभिन्न स्थानमा बस्ने नपालीहरु ‘गोर्खा वारियर’ प्रिमियरमा सहभागी हुन एकजुट भएको देखिन्छ ।

‘गोर्खा वारियर’ फिल्मको प्रिमियरका लागी खटिरहेका निर्देशक मिलन चाम्सलाई यो खबरले खुसी बनाएको छ । उनले फेसबुकमा तस्बिरहरु सियर गर्दै लेखेका छन्, “गोर्खा वारियर”प्रिमियरमा सहभागी हुन यूके, रेडिंग बासीले बस नै रिजभ गरी सक्नू भएछ रेडिंग बासी सम्पूर्ण प्रति नमन । त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात् आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ ।

सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, अभिनेता तथा क्याप्टेन वियज लामा पनि सहभागी हुने भएका छन् । निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।