चलचित्र ‘गुराँस’ वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक लागिन् मेनुका



काठमाडौँ। अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिकमा हुन गइरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । उनी अभीनित ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार वर्ल्ड प्रिमियर हुँदैछ । मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो । उनले फेस्टिभलमा फिल्मको ‘युनिभसर्’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको बताएकी छिन् ।

‘ मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘ तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ । अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’ फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन् । उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन् ।

‘म त कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिन । आफ्नो भूमिका हेर्छु । यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ । एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि एकदमै रमाइलो भएको थियो,’ उनले सुनाइन् । मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन् । दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । चलचित्रलाई राई स्वयंले लेखेका हुन् । उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन् ।
‘केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो । कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो । एक दिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनु भयो । आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ,’ उनले भने, ‘जसरी गुराँस जंगलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै नै छन् ।’ ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् ।

फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।
फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।

कलकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देश सौरभ राईले यसअघि ‘निम्तो’को निर्देशन गरेका थिए । नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल फिल्मले मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो । ‘गुराँस’ पनि निर्माण अगावै नेदरल्यान्डको हुबेर्ट बल्स फन्ड जित्न सफल भएको थियो भने फिल्म हङकङ फिल्म मार्टको वर्क इन प्रोग्रेस ल्याबमा पनि छनौट हुन सफल भएको थियो ।