समुन्द्र निर्देशित ‘गुलाबी’ बन्यो ‘गुन्युचोलो’



काठमाडौं। अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टले नेपाली चलचित्र ‘गुलाबी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ । समुन्द्र भट्ट निर्देशित चलचित्र लाई यो कम्पनीले सन् २०२४ मा ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा विश्वव्यापी रिलिज गर्नेछ ।

नेपालको चलचित्र निर्माता कम्पनी ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’सँग अमेरिकी कम्पनीले निर्माण र वितरणमा सहकार्य गरेको हो । चलचित्र निर्देशक भट्टका अनुसार गुलाबीमा अब नेपालको कम्पनी र भिजिअनले संयुक्त रुपमा काम गर्नेछन् ।

सहमतिअनुसार भिजिअनले सिनेमाको पोस्ट प्रोडक्सनको जिम्मा लिनेछ भने विश्वभर वितरण समेत गर्नेछ । ‘यो खबरलाई दर्शकमाझ सेयर गर्न पाउादा हामी उत्साहित छौं । विश्वभरका दर्शकमाझ सिनेमालाई र्पुयाउने हाम्रो योजनामा भिजिअनले साथ दिने भएको छ,’ निर्देशक भट्टले भनिन् ।

ओस्कार अवार्डमा मनोनित अमेरिकी संगीतकार मार्सेलो डी फ्रान्सिस्कीले सिनेमाको पाश्र्वध्वनि कम्पोज गर्ने भएका छन् । मार्सेलोले अलेक्ज्याण्डर पेनेको सिनेमा ‘नेब्रास्का’, नताली पोर्टम्यानको सिनेमा ‘जेन गट ए गन’, ‘ड्रम्स अफ विक्ट्री’लगायतका सिनेमाको लागि पाश्र्वसंगीत भरेका छन् ।

मार्सेलोले सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्, ‘मलाई उत्कृष्ट कथा मन पर्छ । यो सिनेमाको पहिलो रफ–कट हेरेपछि मेरो हृदय छोयो । मेरा आँसु खसे । यो एक हृदयस्पर्शी र वास्तविक ट्रान्सजेन्डर कथा हो, जुन सबैले अनुभव गर्नुपर्छ । मलाई विश्वास छ कि यसले तपाईलाई मलाईजस्तै उत्प्रेरित गर्नेछ । यसले व्यापक रुपमा दर्शकसँग साझेदारी गर्न सकोस् ।’

अन्तर्राष्ट्रिय रुपमै रिलिज हुने भएपछि अब सिनेमाको पूर्वनिर्धारित नेपाल प्रदर्शन स्थगित भएको निर्देशक भट्टले बताइन् । ट्रान्सजेन्डर पात्रको कथावस्तुमा निर्माण भएको सिनेमाको शीर्ष भूमिकामा नाजिर हुसेनले अभिनय गरेका छन् । चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला र विशाल पहारीको पनि अभिनय छ ।