‘गोर्खा वारियर’ को लण्डन प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने



काठमाडौं । आगामी भदौ २४ गते लण्डनमा आयोजना हुन लागेको फिल्म ‘गोर्खा वारियर’ को प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । बुधबार साम्पाङलाई प्रिमियरमा निम्तो दिन निर्माता तथा निर्देशक चाम्स धरान पुगेका थिए ।

‘उहाँले आफू फिल्म प्रिमियरमा सहभागी हुने र आफूलाई काममा साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको बताउनुभयो,’ निर्देशक चाम्सले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा आफ्नो साथ हुने उहाँले बताउनुभयो ।’ साम्पाङले निम्तोपत्र बुझ्दै फिल्ममार्फत गोर्खालीको गौरवगाथा अन्तर्राष्ट्रिय रुपमै फैलाउनु जरुरी रहेको बताएका थिए ।

उक्त फिल्मलाई बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ । साथै सेप्टेम्बर महिनालाई ‘प्रिमियर मन्थ’को रुपमा मनाउने निर्माताको योजना छ । लण्डनको लिसेस्ट स्क्वायरस्थित उक्त हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको छ ।

विजय लामासहित फिल्मका कलाकारहरु पनि लण्डन पुग्नेछन् । उक्त आइम्याक्स सिनेवर्ल्ड हलमा जेम्स बण्ड, मिसन इम्पोसिबलजस्ता चर्चित फिल्मको लण्डन प्रिमियर भइसकेको छ । ‘नेपाली फिल्मलाई त्यहाँ प्रिमियर गर्नु मेरो २० वर्षअघिको सपना हो । त्यो सपना पूरा गर्ने अवस्थामा आज आइपुगेको छु,’ चाम्सले भने, ‘मेयर साम्पाङको उपस्थितिले समारोहलाई अझै भव्य तुल्याउनेछ,’ उनले भने ।

वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ । ‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.