‘अन्तीम संस्कार’मा प्रहरीको भूमिकामा देखिएकी दीयालाई ‘नेगेटिभ रोल’मा अभिनय गर्ने इच्छा



काठमाडौँ। बेलायतमा नर्सिङ पेशामा आबद्ध दीया पुनले ‘वीर विक्रम’बाट नेपाली फिल्ममा पाइला चालिन् । पहिलो फिल्म नै हिट भइदियो ।​ त्यसयता उनका फिल्म ‘मिष्टर झोले’, ‘ह्याप्पी डेज’ र ‘मन्त्र’ रिलिज भइसकेका छन् । ‘अन्तिम संस्कार’ फिल्म आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदैछ भने ‘दयारानी’ पनि प्रदर्शन हुन बाँकी छ । यतिबेला दीया नेपालमा रहेर ‘अन्तिम संस्कार’ फिल्मको प्रचारप्रसारमा खटिएकी छन् ।

यो फिल्ममा उनी विगतमा भन्दा फरक भूमिकामा देखिएकी छन् । ‘पहिलेदेखि गाउँले रोलमा देखिरहनुभएका दर्शकले यसपटक मलाई डीएसपी (प्रहरी)को रोलमा देख्नुहुनेछ,’ उनले भनिन्, ‘नयाँ र फरक रोल भएका कारणले दर्शकले स्वीर्कानुहुन्छ कि हुँदैन भन्नेमा अलिकति डर छ ।’

फिल्मका लागि सिंगो टीमले निकै मेहनत गरेका कारण पनि आउँदै गरेको प्रदर्शनलाई लिएर आफू यतिबेला नर्भस रहेको उनले बताइन् । ‘अन्तिम संस्कार’ प्रदीप शाही लिखित एवं निर्देशित फिल्म हो ।

निर्देशकको काम गर्ने तरिकाले काम राम्रो र सहज भएको पनि अभिनेत्री दीयाले सुनाइन् । ‘म बाहिर बस्ने, निर्देशकजी पनि बाहिर हुनुहुन्थ्यो । यद्यपि उहाँले हरेक कलाकारलाई समय दिनुहुन्थ्यो । जूममार्फत हाम्रो वर्कशप हुन्थ्यो । क्यारेक्टरका बारेमा कुरा हुन्थ्यो । क्यारेक्टर कसरी निभाउने भनेर प्राक्टिस गथ्र्यौं,’ दीयाले सम्झिइन्, ‘पछि नेपालमा आएर फिजिकल वर्कशप पनि गर्‍यौं । जब हामी सुटिङमा गयौं, एक्सन भन्नेबित्तिकै वान टेकमा ओके भयो । यसरी काम भएको मेरो पहिलो अनुभव थियो ।’

उसो त पछिल्लो समय प्रायः फिल्मको वर्कशप हुने गर्छ । दीयाले यसअघिका फिल्ममा पनि वर्कशपको अनुभव संगालेकी छन् । यद्यपि सुटिङ सेटमा गएपछि केही कारणले लोकेसन परिवर्तन हुने, टेक्निकल कारणले भनेजस्तो तरिकाले सुटिङ नहुने जस्ता समस्याहरू पनि फिल्ममा हुने गर्छ ।

त्यसरी धेरै समय यत्तिकै खेर फाल्नुपरेको अनुभव उनी स्वयंले पनि यसअघि संगालेकी थिइन् । ‘यसपटक मौसमका कारणभन्दा अरुले असर भएन । तय गरिएको सेड्यूलभन्दा छिटो सुटिङ सकेका थियौं,’ उनले सुनाइन्, ‘दुःख पनि धेरै गर्‍यौं । दिनमा १८ घण्टासम्म काम गरेका थियौं ।’

यो फिल्ममा दीयासँगै विजय लामा, त्रिचु राई, रेश्मा घिमिरे लगायतको अभिनय छ । मनोवैज्ञानिक थ्रिलर जनरामा फिल्म बनेको हो । आधा दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी दीयालाई फिल्ममा आउने सोच भने थिएन ।

नेपालको म्याग्दी पुर्ख्यौली थलो रहे पनि उनी हङकङमा जन्मिएकी हुन् । बुवा ब्रिटिस आर्मीमा थिए, सोहीकारण उनको बाल्यकाल कहिले कहाँ त कहिले कहाँ बित्यो ।

२ वर्षको उमेरमा नेपाल आएकी उनी केही वर्ष बु्रनाई गएर पनि बसिन् । फेरि नेपाल आइन् र सन् २००० मा बेलायत गइन् । त्यही पढिन्, नर्सिङ पेशा अंगाल्दै त्यही करिअर शुरू गरिन् ।

उनलाई म्युजिक भिडियो, मोडलिङ, फेसनतिर चाहिँ पहिलेदेखि रुचि थियो । ममीमार्फत दीयाको भेट निर्देशक मिलन चाम्ससँग भयो, जतिबेला उनी नयाँ प्रोजेक्टको तयारीमा थिए ।

उनले दीयालाई फिल्ममा आउन हौसला दिए । २ लाइन बोल्न दिए, जुन क्यामेरा अगाडि बोल्नुपर्ने थियो । दीया निर्धक्क बोलिन् । दयाहाङ राईसँग जोडी बाँध्दै ‘वीर विक्रम’मा अभिनय गरिन्, फिल्म रुचाइयो ।

अहिले दीया फिल्म क्षेत्रमा आएको ७–८ वर्ष भइसकेको छ । बेलायतमा नर्सिङ पेशामा सक्रिय हुने उनी फिल्मका लागि समय मिलाएर नेपाल आउने जाने गर्छिन् ।

दीयालाई यसअघि निर्वाह गरेकोजस्तै भूमिकामा अफरहरू धेरै आउने गर्छन् । उनी भने सकेसम्म फरक खालको भूमिका निर्वाह गर्न चाहन्छिन् । अब उनलाई एक्सन फिल्म खेल्ने इच्छा छ । ‘एक्सनमा फिमेल लिडमा रहेको फिल्म नआएको धेरै भयो,’ उनले भनिन्, ‘मलाई त्यसप्रकारको भूमिका गर्न मन छ ।’ एक्सन फिल्म खेल्न सक्ने विश्वास पनि आफूमा रहेको उनले बताइन् ।

यसबाहेक ‘नेगेटिभ रोल’मा पनि अभिनय गर्ने इच्छा रहेको दीया बताउँछिन् । अहिलेसम्म फिमेल कलाकार भिलेनको रोलमा कमै देखिएकाले पनि आफूलाई त्यो इच्छा रहेको बताइन् ।