नवलको ‘काँडेतार’ फागुन २५ महाशिवरात्रिमा



काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै आगामी फागुन २५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

गत बैशाखमा सेन्सर बोर्डले चलचित्रको केही दृश्य र संवादमा आपत्ति जनाउँदै प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिएको थिएन । यो विषयले केही दिन मिडियामा चर्चा पाएपछि नवलले आपत्तिजनक संवाद र दृश्य हटाएपछि सेन्सर बोर्डले प्रमाणपत्र दिएको थियो । सिनेमाले नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको निर्देशक खड्का बताउँछन् ।

चलचित्रमा नवलका अलवा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि अभिनय छ । सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सोलो प्रदर्शन र विदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल गरिदिन निर्देशक नवलले सरकारसँग आग्रह गरेका छन् । माकिको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।