‘दान्भी’ मा एक्सन अवतारमा पूजा



काठमाडौँ। अभिनेत्री पूजा शर्मालाई दर्शकले लभ स्टोरी चलचित्रमा हेर्दै आएका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता लभ स्टोरी चलचित्रले पूजाको परिचय बनाएका छन् । अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको चलचित्र ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ । चलचित्रमा पूजाको जोडीको रुपमा कुन्साङ बोमजनले काम गर्ने पक्का भएको छ । यो कुन्साङको डेब्यू फिल्म हो ।

चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यसअगाडि निर्देशन गरेको चलचित्र ‘जय शम्भु’ले तारिफ पाएको थियो । चलचित्रको एक्सन दृश्यलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका थिए । रुपेशले भने–‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

चलचित्रलाई लिएर अभिनेत्री पूजा शर्मा उत्साहित छिन् । चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । चलचित्रका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।