रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा



काठमाडौं । र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो ।

हिपहप र र्‍याप गीत संगीतको प्रवर्द्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको यसका निर्देशक आदित्यविक्रम अछामीले बताए । ‘हामीले हिपहप र र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शो को आयोजना गरेका छौ । पहिलो शो बाट नै हामी धेरै उत्साहित भएका छौ’, निर्देशक अछामीले भने ।

अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेति (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुगेका छन् । उनीहरूमध्ये असार २ गते हुने अन्तिम प्रतिस्पर्धामा एक जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराए ।

यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकोले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रिन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताए । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल बिस्टको भनाइ थियो ।

कार्यक्रमका अर्का निर्माता बिनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा बिजेता घोषणा गरिने छ । प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजीटल, टिकट पार्टनरमा माइपे र फोटोग्राफी पार्टनरमा फोटो फेशन स्टुडियो रहेका छन् ।

करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ ।

प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहेका छन् ।