नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को पोखरामा शुभ मुहूर्त



काठमाडौँ। दश वर्ष अघि नेपाली चलचित्र ‘नाईके’ निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको चलचित्र ‘कडी’ को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुहूर्त गरेका हुन् । ‘माइतीघर’ चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै ‘कडी’को शुभमुहूर्त गर्न पाउँदा खुशी लागेको उनले बताए ।

पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा धेरै चलचित्रहरु सुटिङ गरेको जानकारी गराए । हरेराम हरेकृष्ण जस्ता चलचित्रहरु पोखरामा नै छायाँकन गरिएको भनाई उनको छ । श्रेष्ठले नेपाली चलचित्रले अझै पनि नेपाली चलचित्र भनेको यस्तो हुन्छ भनेर विश्वमाझ पुर्याइ आफुलाई स्थापित गर्न नसकेको प्रति दुख व्यक्त गरे । यस्तोमा नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफुलाई अगाडि बढाउन र नेपाली चलचित्रको उन्नयनमा “कडी” महत्वपूर्ण साबित हुनेमा आफु विश्वस्त रहेको भनाई उनको छ ।

पोखरा आसपास छायाँकन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभमुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात चलचित्र छायाँकनमा जानेछ । ‘कडी’ मार्फत दर्शकलाई आफुले नौलो स्वाद पस्कन चाहेको अभिव्यक्ति गुरुङको छ । चलचित्र ‘कडी’ मार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्री प्रसाद तिवारीलाई मुख्यपात्रका रुपमा प्रस्तुत गर्दैछन् । यस्तै थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी सोफी धरेल नायिकाको भूमिकामा रहने छिन् । चलचित्रमा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ । टिकटकमा मार्फत चर्चामा आएका सहित धेरै नयाँ कलाकाहरुलाई स्थान दिइएको निर्देशक गुरुङले बताए । चलचित्रलाई छायाँकन दिपेश केसीले गर्नेछन् भने पब्लिसिटी डिजाइनरमा सविन गायक रहेका छन् । सो अवसरमा सविन गायकले नै डिजाइन गरेको फस्ट लुक पनि सार्वजनिक गरिएको छ ।