‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीपेन्द्र, दीया र रामराजाको ‘मास्टर क्लास’


काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५) देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ । काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा तेस्रो दिन शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । ग्रामीण फिल्मको विषयमा उनीहरूको ‘मास्टर क्लास’ हुने भएको हो ।

उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन् । आयोजकले आगामी बिहीवार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ । ‘झिंगेदाउ’,‘प्रकाश’,‘डेसान’सँगै तामाङ र गुरुङ फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछ ।

साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जनाइएको छ । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।

काठमाडौंबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् । चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो । गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा महोत्सव आयोजना गरिएको थियो ।