टुल्की संगै ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा



काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति प्रथामा आधारित चलचित्र रहेको छ । यस्तै, शम्भु थापाको निर्देशन रहेको ‘हुक्का’ अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित बताइएको छ ।

स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको हुक्कामा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको अभिनय छ ।

चलचित्र ‘टुल्की’ द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको हो । यो चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो । चलचित्रको छायाँकन सुसिल अधिकारी र नमराज घिमिरेले गरेका हुन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेका छन् । यो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पाश्र्व संगीत संजिव सुब्बाको, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ । चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।