नेपाल अफ्रिका फिल्म फेस्टिभल असार १ बाट



काठमाडौं। नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ ।११ औँ संस्करणको यो फेस्टिबल यही असार १ गते देखि ३ गते सम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सब कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।

महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले बिगत ११ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ।’ नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताइन् ।

यो अन्तराष्ट्रिय फिल्म फेस्टिभलका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उनले बताईन् । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उनले जनाईन् ।

यो महोत्सबको लागि बिगतमा झै यसपटक पनि बढीमा २५ वटा सिनेमा चयन गरिने छ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सबमा प्रदर्शन गरिने छ ।अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिका माथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिने छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिगत झैं यसपटक पनि साँस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यबसायिक हुन सेकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सब निर्देशक क्षत्रीले बताएका छन् । महोत्सबमा कला प्रदर्शनी पनि गरिने भएको छ ।

यो महोत्सवमा चलचित्र, लघु चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराईनेछ । नेपाल खण्ड अन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा क्याटोगोरी रहेको पनि क्षत्रीले बताए । यस्तै नेपाली खण्ड अन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्ड अन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।