सर्यो अमेरिकामा हुने भनिएको नेफ्टा फिल्म अवार्ड



काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ ।

नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोञ्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी दिए । अवार्डको अमेरिका आयोजक मध्येको एक फेम नेपालका प्रमुख विमल पछाइले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुने आशा लिइएको बताए ।

जसअनुसार आगामी बैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जुरीले गरेका मूल्यांकनको आधारमा टप फाइभ घोषणा हुने अध्यक्ष लामाले जनाए । उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन् ।

अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । जुरीले फिल्म हेरेर मूल्यांकन गर्ने काम सकेका छन् । अमेरिकाअघि नेफ्टाका विदेशी संस्करणहरु युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेका छन् । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।

नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित नेफ्टाको ११ औं संस्करण अमेरिकामा गर्न लागिएको हो । नेफ्टा अध्यक्ष लामाले अवार्डलाई सफल तुल्याउन अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई आग्रह गरे । ‘यो अवार्ड नेफ्टाको मात्र होइन, सबैको साझा हो’ उनले भने ।

आयोजक संस्था फेम नेपालका अध्यक्ष पछाइले नेफ्टा अवार्डमार्फत आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए । अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने समेत उनले जनाए ।

अर्को आयोजक युएस खबरका ओम आचार्यले अवार्ड समारोहमा भारतीय र अमेरिकी फिल्म उद्योगका हस्तीलाई सहभागि गराउन प्रयास हुने बताए । ‘हामी उनीहरुको कुरा सुन्छौं र नेपाली फिल्मको कुरा पनि उनीहरुलाई सुनाउँछौं । पर्यटनसँग पनि जोड्छौं’ आचार्यले भने । नेफ्टा नेपाली चलचित्रमा सक्रिय प्राविधिकको छाता संस्था हो ।