काठमाडौं। आगामी बिहिवार बाट प्रदर्शनमा आउने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रिमियर आइ प्लेक्स मलस्थित वान सिनेमाज्मा सम्पन्न भएको छ । मंगलवार साँझ गरिएको प्रिमियरमा सेलिब्रेटीहरुको बाक्लै उपस्थिति रहेको थियो।
२ घन्टा २० मिनेट लामो चलचित्रले नेपाली चलचित्रले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको प्रतिक्रिया निर्देशक प्रदीप भट्टराइले दिए । उनले भने–‘नेपाली चलचित्रमा जे बिक्छ त्यही बनाउने चलन छ । तर, रिनाशा राई रानाले यो ट्रेन्डलाई भत्काइदिनुभएको छ । अब, चलचित्र बनाउने मेकरका लागि पनि नयाँ बाटो यो चलचित्रले खोलिदिएको छ ।’
नायिका प्रियंका कार्कीले फिल्म हेरेर आफ्नो आँखालाई आनन्द आएको बताइन् । नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको अर्की नायिका शिल्पा मास्केको भनाई छ । फिल्ममा कलाकारको मिहिनेत देखिएको यी दुई नायिकाको भनाई थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक बनेको र सन्देश पनि दिने खालको रहेको बताए । नेपालमा यो स्तरको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उनको भनाई थियो ।
फिल्म हेरेर नायिका केकी अधिकारी र रिमा विश्वकर्माले पनि खुलेरै तारिफ गरे । नेपालमा यस्तो कथामा फिल्म बनाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै उनीहरुले निर्देशकको काम, कलाकारको काम र प्राविधिकहरुको मिहिनेतको खुलेर तारिफ गरे ।
रिनाशा वान्तवा राइको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ । प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको निर्देशक रिनाशाले बताइन् ।