आयो एनिमेटेड जंगे स्टाइल (भिडियो)


Laxman-Paudel-djlx
(सेलिब्रेटी नेपाल) १५ साउन-नेपाली सांगीतिक इतिहासमा पहिलो थ्रीडी एनिमेटेड गीत सार्वजनिक गरिएको छ । दक्षिण कोरियाको साइ व्याण्डले शुरु गरेको ग्याङनाम स्टाइलको शैलीलाई पछ्याउँदै नेपालका युवा डीजे एलएक्सले एनिमेटेड ओप्पा जंगे स्टाइलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् । बिद्याराज शिवाकोटीको शब्द रहेको ‘बाजी थापी हाम फालेको’ बोलको गीतलाई एलएक्सले स्वर र संगीत दिएका छन् ।

‘मलाई अन्तराष्ट्रिय रुपमा चिनिन मन छ, नेपाल सानो देश गौतम बुद्ध र सगरमाथाको देश सानो देश भए पनि हामी पनि प्रविधिमा कमि छैनौ, म संगीतले पनि नेपाल धनी छ भन्ने कुरा चिनाउन चाहन्छु ।’ उनको उक्त भिडियोलाई जय गिरी र सत्यमले एनिमेसन गरेका छन् भने मिलन श्रेष्ठको सम्पादन रहेको छ।

उनले आफ्नो भिडियो नेपालकै सर्वाधिक महंगो भिडियोसमेत भएको दाबी गरे । ‘भिडियो बनाउन ६ महिना लाग्यो,’ उनले थपे,‘एक रात पनि नसुती यो गीतको भिडियो तयार पारियो ।’ उनले आफ्नो भिडियो विश्वका अन्य भिडियोभन्दा राम्रो शैलीको छ भन्ने प्रमाणित गर्न चाहेको बताए । यो गीतलाई उनले आफ्नो तेस्रो एल्बममा समेटेका छन् । उनको यसअघि नै ‘डीजे एलएक्स’ र ‘रिङटोन’ नामक एल्बम श्रोतामाझ ल्याइसकेका छन् ।

२०५४ सालबाट संगीत क्षेत्रमा प्रवेश गरेका एलएक्सले आफ्नो करियर स्टुडियो रेकर्डिष्टबाट शुरु गरेका थिए । अमेरिकी नागरिक जुन फ्ल्यासमेनसँग ९ महिनाको डीजे तालिम लिएका उनीद्वारा गाइएका ‘बाखरी’, ‘राम जाने’, ‘सम्झना’, ‘लौ लौ आयो,’ ‘एकै नजरमा’, ‘सिमसिमे पानी’लगायतका धेरै गीत हिट छन् । २०६५ सालबाट नेपाली फिल्ममा व्याकग्राउण्ड स्कोररका रुपमा प्रवेश गरेका उनले ‘बाटोमुनीको फूल’, ‘सायद’,‘फेसबुक’ लगायतका चलचित्रमा आफ्नो सांगीतिक कौशल देखाइसकेका छन्। उनले बाटोमूनिको फूलबाट ‘सिजी डिजिटल अवार्ड’पनि जितिसकेका छन् ।

 

Junge-style