चलचित्र ‘हल्कारा’ को गीतमा प्रकाश सपुत र देवी घर्तीको स्वर



काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। ‘जीवन कठै बरी’ बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ। गीत तथा संवादहरुले मार्मिकरुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ।

यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत दिएका छन्। पछिल्लो समय ‘सकम्बरी’ गीतबाट चर्चामा रहेका सपुतको चलचित्र ‘हल्कारा’मा समावेश रहेको गीत पनि उत्तिकै समय सान्दर्भिक रहेको छ।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.