नीलम गुरूङ बनिन् पहिलो पोएट आइडल



काठमाडौँ। नेपाली कवि र कविताको पहिलो टेलिभिजन रियालिटि शो ‘द पोएट आइडल’ २०७९ पुष १४ बाट शुरुवात भएर वैशाख ८ मा एपिवान टेलिभिजनको स्टुडियोमा भव्यताका साथ सम्पन्न भएको छ । पहिलो सिजनको विजेता सिक्किम कि कवि नीलम गुरूङ बनेकी छन् ।

उत्कृष्ट ४ कविहरूले ग्राण्ड फिनालेमा आ-आफ्नो अन्तिम कविता प्रस्तुत गरेका थिए र अन्तिम चरण सम्म पनि भोटिङ अपिल गरेका थिए । उत्कृष्ट चार कविहरूका साथै मुनु अधिकारी र अनुप न्यौपानेले पनि कविताको प्रस्तुति दिएका थिए ।

प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता/निर्देशक क्षेत्रप्रताप अधिकारी कै सुपुत्र अमनप्रताप अधिकारी हुन् । अमन प्रताप अधिकारीले विदेशी फ्रेन्चाइजका कार्यक्रमलाई नेपालमा ल्याएर निर्देशन पनि गरेका थिए । अधिकारीका अनुसार अब नेपालीपन कै नेपाली माटो सुहाउँदो, तर विदेशी कार्यक्रम बराबरको छनक दिने हुटहुटी सँगै पोएट आइडलको जन्म भएको हो । पोएट आइडल नेपाली साहित्यको क्षेत्रमा एउटा छुट्टै माहोल सहित निर्मित भएको हुँदा यस कार्यक्रमले हजारौँ दर्शकको मन जित्न सफल भएको अधिकारी बताउँछन् ।

असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिएका थिए । छानिएका कविहरू युग सर्वनाम, आयुष राज मण्डल, छबिना लुङ्गेली मगर, मल्लिका खतिवडा, महेन्द्र राई, अव्यग्र अस्मित, गगन लिम्बू, पिंकी बोहोरा, लेकाली कान्छा मुक्कुम, मिल्सन राई, मुनु अधिकारी, पल्लवीब, नीलम गुरुङ्, न्याथन रायन, रबिना कँडेल र अनुप न्यौपाने हुन्। यी १६ जना मध्ये रबिना कँडेल वाइल्ड कार्डबाट एन्ट्री पाएकी थिइन् ।

यस शोमा कविहरूलाई विभिन्न माध्यमबाट विषय दिइएको थियो । कहिले नाटक, कहिले माइम, कहिले भिडियो, कहिले भ्रमण, कहिले खुला विषय, आदि लाई प्रयोग गर्दै कविता लेख्ने विषय दिइएको थियो । ती विषयका आधारमा कविहरूले कविता तयार पारेका थिए । र, कविता वाचनमा पनि कविहरूले नाटकीय तथा संगीतात्मक शैलीलाई अपनाएका थिए । यो शायद नेपाली कवितामा उपयोग भएको पहिलो प्रयोग हो । यसले कवितामा नयाँ आयामका साथसाथै एउटा डिस्कोर्स पनि निर्माण गरेको छ ।

कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुँदै, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हालेका थिए । अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिँदै अन्तिममा चार जना कवि पल्लवीब, न्याथन रायन, नीलम गुरूङ् र मिल्सन राई बीच ग्राण्ड फिनालेमा विजेता हुनका लागि प्रतिस्पर्धा भएको थियो । जनताको भोटलाई अन्तिम निर्णायक मान्दै यस सिजनका लागि कवियित्री नीलम गुरूङ् ‘द पोइट आइडल’ बनेकी हुन् ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त थिए । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गरेका थिए ।

‘द पोइट आइडल’को विजेता कविले दस लाख रूपियाँ नगद पाउनुका साथसाथै यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन हुँदैछ । यस कार्यक्रमका दौरान विशिष्ट १४ कविहरूले विभिन्न एपिसोड र चरणमा तयार पारेको कविताको पनि प्रकाशन भएर कार्यक्रममा उक्त किताबको विमोचन भएको थियो ।

यस कार्यक्रमका निर्देशक अमन प्रताप अधिकारी भन्छन्, “अब कविता लेखनले पनि व्यापकता पाएको छ । र कविहरू पनि स्टार बन्न पाउने अवस्था निर्माण भएको छ ।” यो कार्यक्रमले यस्तो अवस्था निर्माण गरेको छ जहाँ कविहरू पनि कविताकै माध्यमबाट जीवन चलाउन सक्ने अवस्था आएको अधिकारी बताउँछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.