दर्शकले मन पराए दयाहाङ र प्रकृतिको ‘बिहे पास’



काठमाडौँ। नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ ।

संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका बिशाल पहाडी सरकारी अधिकृत छन् । फिल्मले सरकारी जागिरको कुरा मात्र होइन,नेपाली जनजीवनका बिबिध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी,कर्मचारीको घुस्याहा मनोबृति,लोकसेवा पास गर्न आर्थिक चलखेल,प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न बिबिध हतकन्डा अप्नाउने डनगिरीलगायतका बिबिध बिषयलाई समेटेको छ । हाँसो,रोमान्स,यथार्थता तथा सेन्टिमेन्टस्को समेत समुचीत संयोजन रहेको फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् । उनले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘अमेरिका ब्बाइज’ ले पनि तारिफ पाएको थियो ।

नयाँ बर्षको पहिलो र दोश्रो दिन ‘बिहे पास’ ले देशभर हाउसफूलको ब्यापार गरेको थियो भने त्यसपछिका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । उनले आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा गइसकेको बताएका छन् ।

फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल,श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,हिउँवाला गौतम,नवीन शेरचन,उमा बानियाँ,प्रकाश भुजेल,रुषा न्यौपानेलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।