नयाँ बर्षको दिन ‘बुलाकी’ को सुखद व्यापार



काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । चलचित्रलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको छ ती शोमा दर्शकको राम्रो साथ रहेको निर्माता बिराज बिष्टले बताए ।

शुक्रबार चलचित्रले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ । बिहानी शोमा फिल्मको व्यापार औषत भएपनि दिउँसोबाट दर्शकको अकुपेन्सी उच्च रहेको छ । नेपालगञ्जमा यो फिल्मले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो । चलचित्र हेर्न नेपालगञ्जको हलमा पुगेका दर्शक टिकट नपाएर फर्किएको कलाकार तथा निर्माता बिष्टले जानकारी दिए ।

काठमाडौँका मल्टिप्लेक्समा पनि चलचित्र हेर्न आउने दर्शकको संख्या सुखद थियो । क्यूएफएक्स चेन अन्त्रगतको सिभिल, लाबिम, छाँया सेन्टर, भक्तपुर लगायतका हलका चलचित्रले जति शो पाएको छ । ती सबै शोमा दर्शक राम्रो रहेको निर्माताको भनाई छ ।

‘प्रदर्शकले कम शो दिएर आफूहरुलाई पीडित बनाएपनि दर्शकको साथ मिलेको छ’ निर्माता बिष्टले भने । अभिनेत्री सुरक्षा पन्तले फिल्ममा राम्रो दर्शक देखिएपछि दर्शककमा धन्यवाद दिएकी छिन् ।

लक्ष्मण सुनारको निर्देशन रहेको फिल्मले कर्णालीको कथा भन्छ । कर्णालीका एक दम्पतीको कथालाई फिल्मले मार्मिक रुपमा प्रस्तुत गरेको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्ट मुख्य भूमिकामा छन् ।