अप्सनाको कलाकारिताबाट फेरिएको रुप



काठमाडौं । भनिन्छ, भाग्य र भविष्यको टुंगो हुँदैन । एकताका म्यूजिक भिडियो र चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी अप्सना थापाको जीवनमा यस्तै संयोग जुरेको छ । एकनारायण भण्डारीको गीत ‘जुग जुग जाने माया गरौंला’बाट म्यूजिक भिडियोको अभिनयमा डेब्यू गरेकी अप्सना अहिले ग्ल्यामर क्षेत्रभन्दा फरक दुनियाँ अर्थात इस्लाम धर्मको अनुयायी बनेकी छन् ।

कुनै बेला ग्ल्यामर पहिरनमा रमाउने अप्सना अहिले सम्पूर्ण शरीर ढाक्ने पहिरनमा भेटिन्छिन् । उनले आफ्नो नामको पछाडि थापा हटाएर मियाँ राखेकी छन् । फिल्म ‘रुमालै छ चिनो’बाट चिनिएकी अप्सनाले झण्डै १० वर्ष म्यूजिक भिडियो र मोडलिङमा बिताइन् । उनले पछिल्लो अभिनय गरेको फिल्म ‘डाँडाको वरपीपल’ हो ।

‘म सानैदेखि नाटकमा अभिनय गर्थे । फिल्म र भिडियोमा केही गर्छु भनेर अघि बढें । यो अवधिमा झण्डै तीन दर्जन भिडियोमा काम गरें’, अप्सनाले भनिन्, ‘तर समय एकनास नचल्ने रहेछ । म आफ्नो कामप्रति दिक्क भइसकेको थिएँ । संघर्षबाट थाकेपछि मैले इस्लाम धर्म अपनाएँ । उनले १६ वर्षको उमेरमा भिडियो मोडलिङमा पाइला चालिन् । उनको अहिले दैनिकी फेरिएको छ । उनी दैनिक पाँच पटक नमाज पढ्छिन् । ‘मैले इस्लाम धर्म अपनाउनु आफैंमा सरप्राइज थियो । किनकी म जाँदा पशुपतिनाथलाई ढोगेर गएको थिएँ, फर्कदा अल्लाहको अनुयायी भएर फर्किएँ’, उनी भन्छिन्, ‘मैले इस्लाम धर्म अपनाएको मेरो परिवार कसैलाई थाहा थिएन । मेरो निर्णयले गाउँ समाज साथीभाई परिवार पनि छक्क परेका थिए । उनको परिवार पहिला देखिनै इस्लाम धर्मका अनुयाई थिए ।

कुनै समय भलिबल खेलाडीसमेत रहेकी अप्सना अहिले उमेरले २७ वर्ष पुगिन् । उनले बागबजारको आइआइएफटीमा फेसन डिजाइनिङको कोर्ष गरिरहेकी छन् । अप्सना आइआइएफटीले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस ७’को विजेता पनि हुन् । स्याङ्जामा जन्मिएकी अप्सना काठमाडौंमा महाराजगन्जमा बस्छिन् भने व्यावसायिक कामका लागि उनी अधिकांश समय दुबईमा हुन्छिन् । सामाजिक सेवामा उत्तिकै रुची राख्ने उनले विशेष अनाथ बालबालिकाका लागि सहयोग गर्दै आएकी छन् ।