भारतीय विज्ञापन तथा टेलिफिल्मका छायाँकार पौडेलको नेपाली चलचित्र ‘प्रेमा’



काठमाडौँ। चलचित्र ‘प्रेमा’ आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा भारतीय विज्ञापन तथा टेलिफिल्ममा छायाकारको अनुभव संगालिसकेका महेश पौडेलको छायांकन छ । महेश नेपाली चलचित्रका लागि नयाँ होइनन् । उनले ‘मञ्जरी’ र ‘रणवीर’ जस्ता प्रेमकथा तथा एक्सनपूर्ण फिल्ममा छायांकन कला देखाइसकेका छन् । उनले सन् २००५ देखि व्यावसायिक रुपमा फिल्ममा छायाकारका रुपमा काम गरे । भारतको मेघालयमा जन्मिएका उनले जीवनका अधिकांश समय भारतमै बिताए । महेशले नेपालमा भने प्रेमकथाको फिल्म ‘मञ्जरी’बाट छायांकनमा पाइला चाले ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ । निर्देशक गोविन्दसँग महेशको चलचित्र ‘मञ्जरी’को सेटमा भएको थियो । त्यसयताको मित्रताले यी दुईबीच ‘मञ्जरी’ हुँदै ‘रणवीर’ र ‘प्रेमा’मा सहकार्य गरिसकेका छन् । ‘गोविन्दजी काममा प्रष्ट हुनुहुन्छ । उहाँ क्यामरा फ्रेमिङदेखि हरेक कुराको ज्ञान छ । त्यही भएर पनि काम गर्न सजिलो हुन्छ’, महेश भन्छन् ।

महेशले भारतीय च्यानल इण्डिया टिभी इमाजिनबाट प्रसारण हुने ‘शनीदेवकी महिमा’, स्टार प्लसबाट प्रसारण हुने ‘जय माँ दुर्गा’ र लाइफ ओकेबाट प्रसारण हुने ‘चन्द्रकान्ता’ मा छायाकारका रुपमा काम गरिसकेका छन् । उनले भारतीय टेलिभिजन च्यानलमा टेक्निकल हेडका रुपमा ३ वर्ष काम पनि गरिसकेका छन् । उनले नेपालमा धेरै टीभीसी विज्ञापन खिचिसकेका छन् ।

महेश चलचित्रको जनराले छायांकनमा प्रभाव नपार्ने ठोकुवा गर्छन् । ‘प्रेमकथा र एक्सन चलचित्र खिचेको अनुभवका आधारमा भन्दा यही फिल्म राम्रो हो भन्ने छैनन् । किनकी सबै फिल्मको खिचाइ राम्रै लाग्छ’, उनी भन्छन्, ‘मलाई सबै विधाका फिल्म प्रिय लाग्छन् । तर मुख्य कुरा थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ । अनि मात्र छायांकन राम्रो देखिन्छ ।’

महेशको अनुभवमा एक्सन फिल्म खिच्दा बढी मेहनत पर्दछ । उनका अनुसार एक्सनमा लाइटिङ र क्यामराको प्रयोग पनि बढी हुने भएकाले क्यामरापर्सनलाई चुनौती उत्तिकै हुन्छ । अधिकांश छायाकार स्क्रिप्ट पढेर फ्लोरमा गएपछि फिल्म छोड्ने गरेको गुनासो सुनिन्छ । महेशको बुझाईमा स्क्रिप्ट र वास्तविकताको तालमेल नमिलेर छायाकारले फिल्म छोड्ने गरेका छन् । ‘स्क्रिप्ट पढ्दा दिमागमा एउटा फ्रेम बनेको हुन्छ । तर फिल्डमा जाँदा त्यो अनुसार प्रोपर्टी अथवा लोकेसन पनि नहुन सक्छ । यो कन्टेन्टलाई यसरी भिजुलाइज गर्छु भनेर सोचेका हुन्छौं । जुन सोचाई फ्लोरमा पुग्दा भेटिँदैन’, महेश भन्छन्, ‘कतिपय अवस्थामा प्रोपर्टी पनि कारण हुन्छ । यसमा कलाकारको अभिनयदेखि धेरै कुरा पनि जोडिन्छ ।’

महेशले फिल्मी करियरको सुरुवात प्रोडक्सनबाट गरेका थिए । सानैदेखि क्यामरामा रुची भएकाले उनी फिल्मको सुटिङमा गइरहन्थे । निर्देशकको कामदेखि क्यामरापर्सनको फ्रेमिङ हेर्थे । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म ‘प्रेमा’मा अरुण क्षेत्री, शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।
फिल्ममा निर्देशक गोविन्द र अर्का लेखक तथा निर्देशक विवेक घिमिरेको निर्माण छ । गोविन्दले यसै फिल्ममार्फत फिल्म निर्माणमा पनि पाइला चालेका छन् । फिल्मका कार्यकारी निर्माता सामर्थ विक्रम थापा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.