दयाहाङ र मिरुनाको ‘जारी’को ट्रेलर सार्वजनिक



काठमाडौं। दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

करिब ४ मिनेट लामो ट्रेलरमा दयाहाङ र मिरुना दम्पतिको भूमिकामा देखिएका छन् । सम्बन्धमा खटपट आएपछि दयाहाङ रेखा लिम्बुतिर ढल्किएका छन् । भने मिरुनाले अर्का अभिनेता रोयदीप श्रेष्ठले साथ दिएको देख्न सकिन्छ ।

जारी प्रथामा आधारित रहेको चलचित्रमा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । चलचित्रमा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् । चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।