मुकुनको ‘गणपति’को पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक



काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडी राखिएको छ ।

निर्देशक सबिन अधिकारीले यो चलचित्रले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए । उनले भने, “कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्छ भने सोहि व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ । त्यसकै वरपर ‘गणपति’को कथा घुमेको छ ।”

यस चलचित्रमा निर्देशनसँगै लेखन पनि सबिन अधिकारीको नै रहेको छ । मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ ।

यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।