कलाकार संघ अध्यक्ष उमेद्वार मोहन निरौलाले गरे प्यानल घोषणा



काठमाडौं। नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानल घोषणा सहित एजेन्डा सार्वजनिक गरेका छन् । बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलको उपाध्यक्ष देखि सदस्य सम्मका उम्मेदवार घोषणा गरेका हुन् ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा डीबी बम्जन र कविता गेलाल तथा महासचिवको उम्मेदवार सविन श्रेष्ठ छन् । निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सह-कोषाध्यक्षमा पवित्रा आचार्य (निर्विरोध) छिन् ।

सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार छन् । बरिष्ठ कलाकार मोहन निरौलाले संघको भवन तथा कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा, कलाकारको वृत्तिविकासलाई एजेन्डा बनाएका छन् ।

बरिष्ठ कलाकार निरौला हाल कलाकार संघको उपाध्यक्ष तथा प्रवक्ता हुन् । २०४० सालमा ‘आर्दश नारी’बाट अभिनय यात्रा सुरु गरेका मोहनले ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’ लगायत सयभन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् । कुनै समय नाटकमा पनि सक्रिय उनले ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’ सिनेमाको निर्देशन पनि गरेका छन् ।