सकियो ‘नम्बरी सुन’ को छायाँकन



काठमाडौं। अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए । लमजुङको भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको चलचित्रको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।

७० वर्षअघिको कथामा निर्माण भएको सिनेमाको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि अभिनय छ । निर्देशक गिरीले स्क्रिप्टलाई दृश्यमा हुबहु उतार्न सक्दो प्रयास गरेको बताए ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशनको, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन रहनेछ ।