दोस्रो सातामा ‘ह्यारीकी प्यारी’ले दर्शकको साथ पाउँदै



काठमाडौँ। माघ २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्यारीकी प्यारी’ यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ बढी पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्र हेर्ने दर्शकहरुको संख्या बढिरहेको निर्देशक डा. कपिल रिजालले बताए ।

‘शनिवार साँझका धेरै शोहरु हाउसफुल भए । हलले शो पनि बढाइरहेका छन्’ निर्देशक डा. रिजालले भने, ‘पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ धेरै राम्रो छ । परिवारसहित चलचित्र हेर्न आउनेहरूको संख्या धेरै देखिएको छ ।’ बलिउड चलचित्र ‘पठान’ प्रदर्शनरत हुँदा पनि आफ्नो चलचित्र ‘सर्भाइभ’ भएर दोस्रो सातामा दर्शकको साथ पाइरहेकोमा निर्देशकले खुशी व्यक्त गरे ।

पहिलो सातामा अपेक्षाकृत दर्शक नपाएको चलचित्रको व्यापार दोस्रो सातामा किन बढ्यो ? निर्देशक डा. रिजाल भन्छन्, ‘हेरेका दर्शकहरुले चलचित्र मन पराउनुभयो । अहिले विदा पनि बढी परेको छ । दर्शकहरुको समय पनि निस्किँदै गए होला ।’

उनी चलचित्रले १ करोड भन्दा बढी ग्रस कलेक्सन गरिसकेको आँकलन गर्छन् । यद्यपि, यकिन रिपोर्ट भने नआइसकेको निर्देशक रिजालले बताए ।

मंगलवार भ्यालेन्टाइन डेमा चलचित्रले अझ राम्रो व्यापार गर्ने निर्माण टिमको विश्वास छ । दर्शकहरुको उपस्थिति हेर्दा आउँदो साता पनि चलचित्रले शो पाउने विश्वास निर्माण टिमको छ । पेशाले दन्त चिकित्सक रहेका डा. कपिल रिजालको यो निर्देशकीय पहिलो चलचित्र हो । उनी वरिष्ठ डा. भोला रिजालका छोरा हुन् ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्मातामा डा. भोला रिजाल छन् । चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय छ । फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा यस चलचित्रले पेश गरेको छ ।