काठमाडौं। विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । झरना थापाले निर्देशन गर्ने चलचित्रको जनकपुरधाम अवस्थित राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण पक्षले छायांकन सुरु गरेको हो ।
जनकपुरपछि चलचित्रको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ ।प्रेमकथामा आधारित रहने चलचित्रमा धिरज र सुहानाको जोडी बाँधिनेछ । पहिलो पटक स्क्रिन शेयर गर्न लागेको यो जोडीलाई लिएर दर्शक उत्साहित छन् ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा सुनिल कुमार थापाको लगानी रहनेछ ।
संजय लामाले खिच्ने सिनेमामा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ । निर्देशक थापाले यसअघि ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्देशन गरिसकेकी छन् ।