दुबई सिनेमा फेस्टमा विवाद छैन–कर्पोरेशन, ‘महापुरुष’ वारे विज्ञप्ती सार्वजनिक



काठमाडौँ । चलचित्र विकास बोर्डसँग सहकार्य गरेर सूर्य कर्पोरेशनले दुबईमा सिनेमा फेस्ट २०२३ आयोजना गर्दैछ । पछिल्लो समय सो कार्यक्रमको विषयमा लगातार सामाचार बाहिरिएको छ । सिनेमा फेस्टमा फिल्म महापुरुष शो गर्ने चर्चासँगै निर्माण संस्था षट्कोण आर्टले महापुरुष समावेश नहुने विज्ञप्ती जारी गरेको थियो । त्यस लगतै कार्यक्रम विवादित भनेर लगातार समाचार बाहिरिएपछि कार्यक्रमको व्यवस्थापन जिम्मा पाएको संस्था सूर्य कर्पोरेशनले विज्ञप्ती जारी गरेको छ ।

सूर्य कर्पोरेसनले मंगलबार विज्ञप्ति जारी गर्दै संस्थाले आफू एजुकेसनल कन्सलटेन्सी नभएर टुर एण्ड ट्राभल एजेन्ट मात्र भएको बताएको छ । टुर एण्ड ट्राभल एजेन्टको रुपमा पहिलेदेखि नै टुर प्याकेज र इभेन्ट सञ्चालन गर्दै आएको तर वैदेशिक रोजगार विभागले एजुकेसनल कन्सलटेन्सी ठानेर अनुगमन गरेको उल्लेख छ । अनुगनमा प्राप्त भएका राहदानी र कागजपत्र अवैधानिक नरहेको अनुसन्धानको क्रममा पत्ता लागेको र चार दिनमै फिर्ता गरेको समेत उल्लेख छ ।

विभागको चलानी नम्बर ७७५ को २०७९/०९/०१ गतेको पत्रमार्फत कागजपत्र र राहदानी फिर्ता भएको भएको विज्ञप्तिमा जनाइएको छ । कोरोना महामारीका कारण पहिले नै निर्धारित टुर प्याकेजका कार्यक्रम केही थाँती रहेको भन्दै कर्पोरेसनले ती समस्या समाधान हुने जनाएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीसँग कुनै व्यापारिक साझेदार नभएको समेत कर्पोरेसनको विज्ञप्तिमा उल्लेख छ । विभिन्न देशमा फिल्म वितरणको काम पनि निरन्तर भइरहेको उसले जनाएको छ । कर्पोरेसनले बोर्डले आयोजना गर्न लागेको फेस्टिभललाई व्यवस्थापन गर्न लागेको पनि उल्लेख छ । बोर्ड आफैंले कार्यक्रमका लागि ३० लाख रुपैयाँ खर्च गर्न लागेको समेत विज्ञप्तिमा उल्लेख छ ।

फेस्टिभल बाहेकका अन्य कार्यक्रमको व्यवस्थापन कर्पोरेसनले आफ्नै खर्चमा समेत गर्ने जनाइएको छ । कार्यक्रमको अवधिमा ऐना झ्यालको पुतली र कबड्डी ४ प्रदर्शन गर्ने योजना रहेको छ । यूएईमा दर्ता, सेन्सर र सबटाइटल समेत गरिएको अर्को फिल्म महापुरुषको दुबई राइट लिएका रमेश ढकालको सुझावमा मात्र त्यसलाई स्क्रिनिङ गर्ने योजना बनाइएको पनि प्रष्टीकरण विज्ञप्तिमा दिइएको छ । तर महापुरुषका निर्माताले चाहिं फेस्टिभलमा सहभागी नहुने बताइसकेका छन् । त्यस लगतै कर्पोरेशनले महापुरुष शो सेडुलबाट हटाईएको छ ।

विज्ञप्ती जस्ताको तस्तै

मिति २०७९/१०/१७

विषय : प्रेस विज्ञप्ती।

प्रस्तुत विषयमा यस संस्था सूर्य कर्पोरेशन प्रा. लि. ले विगत ८ बर्षदेखि नेपाली चलचित्र र गीत संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साकुरा नाईट म्युजिकल ईभेन्ट, नेपाली फिल्म विदेशमा प्रदर्शन र सूर्य ईन्टरनेशनल अवार्डलगायतका कार्यक्रमहरुको सफल आयोजना गर्दै आएको छ । सूर्य कर्पोरेशनको कार्यक्रमहरु लक्षित गरेर भ्रमपूर्ण समाचार प्रकाशन तथा सम्प्रेषण गर्ने र आरोप लगाउने जस्ता कामहरु यस अघि पनि नभएको होईन । फेरी पनि विभिन्न मिडियामा हाम्रो संस्था र सस्थासँग सम्बन्धित कार्यक्रमहरुको वारेमा भ्रमपूर्ण समाचार प्रकाशन भएको छ । त्यस्तो समाचार र मिडियाप्रती हाम्रो ध्यानाकर्षण भएको छ । अन्तिम पटक कर्पोरेशनले ७२ जना कलाकारहरुको उपस्थितीमा सूर्य ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण २०१९ मा जापानमा भव्यताका साथ सफल बनाएको उदाहरण सबै सामु छर्लङ्ग छ ।

अहिले पनि कर्पोरेशनले साकुरा नाईट, विदेशमा नेपाली फिल्म वितरण र सूर्य ईन्टरनेशनल अवार्डको तयारी गरिरहेको अवस्थामा हामी माथी त्यस्तै भ्रमपूर्ण समाचार प्रकाशन गर्ने र आरोप लगाउने कामहरु शुरु भएको छ । हामीलाई थाहा छ, हामीले सम्पन्न गर्ने कार्यक्रहरूले त्यो भ्रम चिर्ने नै छ । यद्वपी पछिल्लो समय सूर्य कर्पोरेशनको वारेमा आईरहेको आरोप बारे हामी थप स्पष्ट पार्न चाहन्छौं । कर्पोरेशनमा सरकारी निकाय वैदेशिक रोजगार विभागले अनुगमन गर्दा केही डकुमेन्ट र पासपोर्टहरु कन्सल्टेन्सीले राखेर विभिन्न देश पठाउन लागेको भन्दै शंकास्पद रुपमा डकुमेन्ट बरामद गरेको समाचारप्रति कर्पोरेशनको ध्यानाकर्षण भएको छ । सर्वप्रथम सूय कर्पोरेशन प्रा. लि. एडुकेशन कन्सल्टेन्सी नभएको स्पष्ट पार्न चाहन्छौं । टुर एण्ड ट्राभल्स एजेन्टको रुपमा रहेको कर्पोरेशनले विगतका बर्षहरुदेखि निरन्तर विभिन्न देशमा टुर प्याकेज र ईभेन्ट प्याकेजहरु संचालन गर्दै आएको जानकारी अनुरोध छ । कानूनसंगत दर्ता गरेर कर समेत तिर्दै आएको र नियमानुसार टुर एण्ड ट्राभल्स एजेन्टको रुपमा सेवा दिदै आएको यस कम्पनीले सेवाग्राहीको पासपोर्ट संकलन गरि टुर प्याकेज र ईभेन्ट प्याकेजको तयारी गरिरहेको अवस्थामा विभागले कन्सल्टेन्सी हुनसक्ने अनुमानसहित अनुगमन गरेको थियो । अनुगमनमा केही थान पासपोर्ट र डकुमेन्ट विभागले बरामद गरी अनुसन्धान गर्दा कन्सल्टेन्सी नभई दुर एण्ड ट्राभल्स रहेको र कुनै पनि अवैधानिक त्रुटि नरहेको भन्दै चार दिनमै सबै डकुमेन्ट र पासपोर्टहरु पत्रसहित फिर्ता गरेको थियो । विभागको चलानी नं ७७५ को पत्र २०७९/ ०९/ ०१ मा हामीलाई डकुमेन्ट र पत्र प्राप्त भएको थियो । कर्पोरेशनलाई लगातर विवादित शब्द प्रयोग गर्दै समाचार प्रकाशन गर्ने मिडियाप्रती हाम्रो गम्भीर धानाकर्षण भएको छ । कोरोनाको समयमा पहिले नै निर्धारित टुर प्याकेजहरु कोरोना कहरका कारण स्थगित भैइ लामो समय काम गर्न सकेका थिएनौ । त्यतिबेला कर्पोरेशनको स्थगित टुर प्याकेजको केही आन्तरिक समस्याहरु बाँकी थियो । जसलाई हामीले क्रमश समाधान गरिरहेका छौं । मिडियामा आएको जस्तो विवादित र कुनै समस्या नरहेको कर्पोरेशनलाई गलत प्रवाह गर्नेढंगले प्रकाशित समाचारप्रती विश्वास नराख्न र नगर्न हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौ । चलचित्र बिकास बोर्डको वार्षिक कार्यक्रम अन्तर्गत दुई देशमा सिनेमा फेस्ट गर्ने जानकारी पछी हामीले प्रस्तावना पेश गरी बोर्डसँग सम्झौता गर्यौ ।

बोर्डका अध्यक्षसँग कर्पोरेशनको कुनै ब्यापारिक साझेदार नभएको पनि स्पष्ट पार्न चाहन्छौ । विभिन्न देशमा नेपाली चलचित्र वितरण कर्पोरेशनको नियमित काम रहेको जानकारी पनि गराउदछौं । हाल कर्पोरेशनले दुबइ (UAE) मा सिनेमा फेस्ट – २०२३ को ब्यबस्थापन गरिरहेको छ । चलचित्र बिकास बोर्डले आयोजना गर्न लागेको सिनेमा फेस्टलाई कर्पोरेशनले ब्यवस्थापन गर्न लागेको हो । बोर्डले सो कार्यक्रमको लागि आँफैले ३० लाख खर्च गर्ने भएको छ । सिनेमा फेस्टसंगै कर्पोरेशनको आफ्नै कार्यक्रम पनि रहेकोले बाँकी खर्च कर्पोरेशनले व्यवस्थापन गर्नेछ ।

UAE का सरकारी निकाय, विदेशी चलचित्रकर्मी र अतिथीहरु उपस्थित हुने सिनेमा फेस्टमा नेपाली फिल्म वारे अन्तर्कृया, बजार प्रवर्द्वन, नियमित चलचित्र प्रदर्शन, चलचित्रमा विदेशी लगानीको संभाव्यता र सहकार्यलगायतको बिषयमा प्यानल डिस्कसन कार्यक्रम रहेको छ । कार्यक्रम अवधीमा दुई चलचित्र ऐना झ्यालको पुतली र कबड्डी कबड्डी ४ शो गर्ने तयारी बोर्डले गरेको छ । फेब्रुअरी १२-१५ तारिकसम्म हुने कार्यक्रममा १३ तारिक केही समय सदुपयोग गर्ने गरी कर्पोरेशनले अर्को एक चलचित्र शो गर्ने तयारी गर्यौ । UAE मा दर्ता, सेन्सर र सब टाइटल समेत गरिएको फिल्म महापुरुषको दुबई राईट nepafilm का रमेश ढकालसँग रहेको जानकारीपछी उहाँले हामीलाई महापुरुष शो गर्न प्रस्ताव गर्नुभयो । लगतै चलचित्रका निर्माण पक्षले महापुरुषको अनुमति नलिई समावेश गरेको भन्दै सहभागी नहुने बतायो । यस बिषयमा दुबईमा रहनुभएका रमेश ढकालले सामाजिक सन्जालबाट स्पष्टिकरण समेत दिनुभएको छ । निर्माण पक्ष र दुबई अधिकार पाएका वितरक पक्षको विवादपछी हामीले कार्यक्रम सेडुलबाट महपुरुषको शो नै हटाएको जानकारी अनुरोध छ ।

चलचित्रकर्मी, पर्फमर र क्रु टिम गरी ४० बढी कलाकार उपस्थित हुने कार्यक्रम सेडुल अनुसार नै १२-१५ तारिकसम्म देरा सेन्टरस्थित स्टार सिनेमामा संचालन हुनेछ । कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने निकाय र संघ/ संस्थाप्रती हार्दिक धन्यवाद । दुबईमा सहकार्य गर्ने संघ/ संस्था र ब्यक्तिहरुप्रती कर्पोरेशन हार्दिक आभार प्रकट गर्दछ ।

बासुदेव लामीछाने

CEO/अध्यक्ष

सूर्य कर्पोरेशन प्रा. लि.