थ्रीडी एनिमेसन लगायतका बिषयमा पढाई हुने ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु



काठमाडौँ । भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुने गरी काठमाडौँको हात्तिसारमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु भएको छ । नेपालबाट हलिउड लगायतका विश्वका ठुला उद्योगका चलचित्रहरुमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्स सँगको सहकार्यमा एकेडेमी सुरु गरेका हुन् ।

एकेडेमीको यहि सोमबार उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टको उपस्थिति रहेको थियो । उनले उक्त अवसरमा एकेडेमीले युवा नेपालीलाई दिने अवसर र यसले नेपाली चलचित्र उद्योगमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गरेका थिए ।

त्यस्तै, बिहिबार नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन् । भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताउँदै एकेडेमीको प्रशंसा गरेका थिए । उद्घाटनको दिनदेखि नै पढाई सुरु गरेका विद्यार्थीहरूसँग कुरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिन प्रोत्साहन दिँदै उनीहरूको सुखद भविष्यको बिश्वास व्यक्त गरे । साथै, राजदुत थम्पसनले काठमाडौँको छाउनीस्थित इनसेसेन्ट रेन फिल्म स्टुडियोको समेत भ्रमण गरेका छन् । सो क्रममा उनले विश्वभरका चलचित्रको लागि स्टुडियोका संचालक किरणभक्त जोशीको प्रशंसा गरे ।

एकेडेमीका संचालक किरणभक्त जोशी टेलिभिजन तथा चलचित्र निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन । उनले यस क्षेत्रमा तीन दशक बढि समय व्यतित गरेका छन् । जोशीले आफ्नो करियर संयुक्त राज्य अमेरिकाको चर्चित हलिउड स्टुडियो ‘वाल्ट डिज्नी स्टुडियो’मा सुरुवात गरेका थिए, जहाँ उनले थुप्रै चलचित्रहरुमा काम गरेका छन् ।

जोशीले काठमाडौँको गुणस्तरीय हिसाबले भिजुअल ईभेक्ट्स तथा एनिमेशनलाई मनोरञ्जन उद्योगको आवश्यकतालाई बुझेर पढाई हुन नसकेको महशुस गरी एकेडेमी सुरु गरेको बताए । उनले चलचित्रमा भिजुअल ईभेक्ट्स र एनिमेशन क्षेत्रमा समेत सक्षम कामदार तथा कलाकारको तीव्र जरुरत परेको चुनौतीलाई आत्मसात गर्दै दक्ष जनशक्तिको विश्वव्यापी अभावलाई मेटाउन एकेडेमीको सुरु गरेको उल्लेख गरे ।

यस क्षेत्रमा श्रृजनात्मक क्षमता भएका दक्ष जनशक्तिको विश्वव्यापी अभावले नेपालको लागि ठूला अवसरहरू सिर्जना गरेको छ, किनभने नेपालको जनसंख्याको आधा भन्दा बढी युवा छन् र उनिहरुका लागि लाभदायक रोजगारीका अवसरहरू चाहिन्छन् । नेपालको लागि प्राप्त यी अवसरहरूलाई शीघ्र हासिल गर्नु जरुरी छ र इनसेसेन्ट रेन एकेडेमीले त्यहि लक्ष्यमा काम गर्नेछ”, जोशीले बताए ।

“मनोरञ्जन उद्योगको वृद्धि कथाहरुका विविधता र समावेशी सामग्रीको विश्वव्यापीकरणबाट हुन्छ । ‘कुङफु पाण्डा’, ‘१४ पिक्स’ र ‘स्क्विड गेम’ जस्ता विश्वव्यापी अपील भएका एशियाली कथाहरू यसका उदाहरण हुन्”, जोशी भन्छन्, “पछिल्लो समय त्यस्ता प्रकारका सामग्रीको माग बढेको छ र अझै बढ्ने अपेक्षा गरिएको छ । इनसेसेन्ट रेन स्टुडियो र एकेडेमी यस प्रकारको उच्च गुणस्तरिय सामग्रीको विश्वव्यापी माग पूरा गर्नको लागि सँधै तयार छ ।”

इनसेसेन्ट रेनका जनशक्तिहरु उच्च प्रतिभाशाली रहेको बताउँदै जोशीले भने, “तिनीहरूले कार्यमा दक्षता मात्र प्रदान गर्दैनन्, हाम्रा कथाहरूको प्रामाणिकता जोगाउन पनि सक्षम रहेका छन् । उनिहरुले विश्वव्यापी दर्शकहरूको लागि हाम्रा कथाहरुलाई दृश्य माध्यममा अनुवाद गरिरहेका छन् ।