डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो…’ले युट्युबमा २२ लाख प्लस भ्युज पाएको छ ।
सार्वजनिक भएको १० दिनमा सोमबार बिहानसम्म भिडियोले उक्त भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो । गजल गीत जब स्रोता दर्शकहरुको कान र आँखामा पर्दै गयो, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।
थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै आफ्नो फेसबुक वालमा सेयर गरे । हजारौं स्रोता एवं दर्शकले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा निकै राम्रो भ्युज पाउँदै गयो ।
डा. प्रदीप कुमार मैनालीको रचना रहेको गजललाई तिलक सिंह पेलाले संगीत र स्वर दिएका हुन् । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् ।कुनै तामझामबीना रेकर्डिङ स्टुडियोमा नै छायाँकन गरेर गजल सार्वजनिक गरिएको थियो ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् । पछिल्लो समय भिडियोमा एकदमै तामझाम हुने तर अडियोमा हुनुपर्ने मेहनत घटेको गुनासो बढ्दै गएको छ । तामझामबीना तयार गरिएको ‘के लत बस्यो…’ गजलले चर्चा पाएसँगै भने गीतमा अडियो पक्ष नै बलियो हुनुपर्ने पुष्टि भएको कलाकारहरूले बताएका छन् ।
उक्त गजललाई युट्युबमा समेत निकै राम्रा प्रतिक्रियाहरू आएका छन् ।