परीक्षामा जितु नेपाल


फाइल तस्वीर

काठमाडौं ।  जितु नेपाल भन्नेवित्तिकै हास्य कलाकार भनेर दिमागमा आउँछ । उनले थुप्रै टेलिसिरियलमा हास्य भूमिकामा अभिनय गरेका छन् । यद्यपि, उनले अभिनय गरेका चलचित्रहरुको संख्या पनि धेरै छ ।

केही चलचित्रमा उनी सानोतिनो भूमिकामा प्रस्तुत छन् भने ‘छ एकान छ’, ‘छक्का पञ्जा’ सिरिजमा उनले शीर्ष भूमिकामै अभिनय गरेका छन् । यद्यपि, उनले ‘सोलो’ भूमिकामा अभिनय गरेको पहिलो चलचित्र भने ‘ह्यारीकी प्यारी’ हो जुन आगामी माघको २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

डा. भोला रिजालको प्रस्तुति रहेको चलचित्रमा जितुले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् । चलचित्रलाई डा. भोलाका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

आइतबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलररिलिज गरिएको छ । उक्त कार्यक्रममा बोल्दै अभिनेता नेपालले यतिबेला आफू एउटा परीक्षामा रहेको बताए ।
‘जिन्दगी परीक्षा रहेछ । यतिबेला फेरी एउटा परीक्षामा छु’ – उनले भने । उनले २०४९ सालदेखि आफू निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय रहेको स्मरण गरे । ‘कहिले ट्वाक्कटुक्क टेलिसिरियलमा सानोतिनो रोल गरेँ । संगालो हुँदै मुक्तिमा सचिव भएँ । दर्पण छायाँ, दुई किनारा चलचित्र खेलेँ । ‘छ एकान छ’देखि साथीहरूसँग सहकार्य गरेर केही चलचित्रमा काम गरेँ’ उनले अगाडि भने, – ‘कहिले ‘मुन्द्रे’ भएँ । कहिले गीताञ्जली चलाएँ । अहिले फेरी आएर ह्यारी भएको छु ।’

यतिबेला आफू फेरी अर्को परीक्षामा रहेको र त्यसमा सफल हुने चाहना रहेको उनले सुनाए । जितु नेपाल भनेपछि चलचित्रले हसाउँछ भन्ने दर्शकहरुको बुझाई रहेको हुनसक्ने भन्दै उनले भने, ‘केही हदसम्म त्यो पनि होला । तर, दर्शकहरुले सोँचेको भन्दा चलचित्र बिल्कुलै फरक छ ।’ जितुले ‘ह्यारीकी प्यारी’लाई आफ्नो जीवनको कोशेढुंगा भएको बताए ।
‘किनकी यसमा मैले फरक भूमिकामा अभिनय गर्ने अवसर पाएँ । मलाई फरक भूमिकामा अभिनय गराइयो’ उनी भन्छन् – ‘छायांकनमा मेरो २७/२८ भन्दा घटी टेक कुनै पनि भएन् । एउटा निर्देशकले आफ्नो खोँचअनुसार अभिनय गराउनु त्यो सफल हो ।’

भावनात्मक र अलि गम्भीर खालको भूमिकामा अभिनय गर्न पाएको भन्दै आफ्नो तर्फबाट सक्दो मेहनत गरेको जितुको भनाई थियो ।

साम्राज्ञीले पनि आफूले एउटा राम्रो र फरक चलचित्रमा काम गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

सामाजिक–कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको समेत अभिनय छ ।