छिन्नलता गीत पुरस्कारद्वारा सम्मान


chinnalata-award
(सेलिब्रेटी नेपाल) ५ साउन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वलाई २०६९ सालको छिन्नलता गीत पुरस्कारद्वारा सम्मान गरेका छन्। गीतकार स्व रमोलादेवी शाह (छिन्नलता)को ९१औँ जन्मजयन्तीका अवसरमा छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ३१ औँ छिन्नलता गीत पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले गीतरचनातर्फ सुभाषचन्द्र ढुङ्गेल, सङ्गीततर्फ महेश खड्का, गायनतर्फ नरेन्द्र प्यासी र प्रतिभातर्फ देवी घर्तीलाई सम्मान प्रदान गरेका हुन्।

पुरस्कृत व्यक्तिहरूलाई जनही नगद रु २० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।गुठीले हालसम्म गीत रचनातर्फ २७, गायनतर्फ २६, सङ्गीततर्फ २६, छिन्नलता प्रतिभातर्फ २६, विशेष सम्मानबाट १२, छिन्नलता सम्मानबाट १८ र छिन्नलता सङ्गीत संयोजन पुरस्कारबाट एक गरी जम्मा १३६ जनालाई सम्मान प्रदान गरिसकेको छ।

गुठीका अध्यक्ष डा वासुदेव त्रिपाठीले छिन्नलता हरेक क्षेत्रमा दान भावनाबाट प्रेरित हुने व्यक्तित्व भएको चर्चा गर्दै गुठीसँग भएको अक्षयकोषको रकमबाट यस किसिमका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए ।सम्मानित व्यक्तित्व ढुङ्गेलले जीवनका अनेक सम्भावनाहरूलाई घाम र छाया, दुःख र सुख, भनाइ र भोगाइका अनुभवबाट व्यक्त गर्ने कोसिस गरेको बताउँदै चोट र आँसु आफ्ना लेखनका ऊर्जा बन्न पुगेको बताए।

विसं. २०३९ मा स्थापित छिन्नलता गीत पुरस्कार यसअघि किरण खरेल, रत्नशम्शेर थापा, स्व.रत्नदास प्रकाश, भीम विराग, स्व. शिवशङकर मानन्धर, स्व. नारायण गोपाल गुरुवाचार्य, स्व.नातिकाजी, प्रेमध्वज प्रधान, मधु क्षेत्री, नलिना चित्रकार, ओमविक्रम विष्टलगायतलाई प्रदान गरिएको छ। कार्यक्रममा सम्मानित व्यक्तित्व देवी घर्ती, गत वर्ष सम्मानित दुर्गा खरेल, निशा देसारलगायतले छिन्नलता र सम्मानित व्यक्तित्व ढुङ्गेलले रचना गरेको तथा सङ्गीतकार खड्काद्वारा संगीतबद्द गीतहरू प्रस्तुत गरेका थिए। रासस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.