लगातार आउँदैछन् समीक्षाका गीत, लयमा फर्किँदै सांगीतिक करियर



काठमाडौं । गायिका समीक्षा अधिकारी यतिबेला सांगीतिक क्षेत्रमा सक्रिय देखिएकी छिन् ।

उनी दिनहुँजसो रेकर्डिङमा व्यस्त हुने गरेकी छिन् भने उनका गीतहरु निरन्तर रुपमा सार्वजनिक भइरहेका छन् । उनको साङ्गीतिक करियर विस्तारैै लयमा फर्किँदै गएको छ ।

पछिल्लो ११ दिनमा मात्रै उनले स्वर दिएका चारवटा गीतहरु सार्वजनिक भएका छन् । वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्दमा समीक्षाले स्वर दिएको ‘यस्तो नहोस् कसैलाई’ ११ दिनअघि सार्वजनिक गरिएको थियो । त्यसयता उनले स्वर दिएका ‘भो कुरै नगर’, ‘दर्पण छायाँमा’, ‘निभेको चुलो’ लगायतका गीतहरु सार्वजनिक भएका हुन् ।

‘निभेको चुलो’ बोलको गीत सोमबारमात्रै युट्युबमा सार्वजनिक गरिएको हो । उक्त गीतले युट्युबमा मंगलबार रातीसम्म १ लाख १० हजार बढी भ्युज पाइसकेको छ ।

समीक्षा केही समययता सामाजिक सञ्जालमा समेत निकै सक्रिय छिन् ।

केही समय सामाजिक सञ्जालमा कमेन्ट अफ गरेकी उनी अहिले त्यसलाई खुलाएकी छिन् । उनी पछिल्ला दिनमा जिम समेत जाने गरेकी छिन् । यसरी हेर्दा दैनिक जीवनसँगै सांगीतिक करिअर विस्तारै लयमा फर्किँदै गएको छ ।

स्टेज कार्यक्रममा भने उनी खास्सै पुगेकी छैनिन् ।