नीताको ‘पञ्चायत’ युट्युब ट्रेन्डिङमा



काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पञ्चायत’ केही दिनअघि युट्युबमा सार्वजनिक गरियो । पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको उक्त चलचित्रलाई यतिबेला दर्शकहरुले रुचाएका छन् ।

सोमबार साँझसम्म चलचित्रले ८ लाख बढी भ्युज पाइसकेको छ भने चलचित्र यतिबेला युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा छ । दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।

चलचित्र ‘पञ्चायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पञ्चायत’ले ‘विदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएकी थिइनु । चलचित्रले विकास बोर्ड विशेष चलचित्रको पुरस्कृत वापत २ लाख रुपैयाँ समेत पाएको थियो ।

पञ्चायतमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहन्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायतको अभिनय छ ।

चलचित्रमा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । गणेश गिरीको प्रस्तुति रहेको चलचित्रको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । चलचित्रलाई शिवम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । चलचित्रले छुवाछुत विरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भएपनि अहिलेको अबस्थाको चित्रण समेत रहेकाले गरिएको छ ।