बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट प्रदर्शनमा आउने



काठमाडौँ । बहुपति प्रथामाथि बनेकोचलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो।

चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्। सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछ।

चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो।