दीपेन्द्रको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’ बन्ने, मुख्य भूमिकामा दयाहाङ र मिरुना फाइनल



काठमाडौं । ‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नांगो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो ।

फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फाइनल भएका छन् । दयाहाङ र मिरुनाले यसअघि यो बर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए ।

मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका लागि अन्य कलाकारहरु भने छनोट हुन बाँकी छ ।

चैत महिनाबाट छायाँकन सुरु हुने फिल्ममा हिमाल शर्मा प्रस्तुतकर्ता एवं जय श्रेष्ठ निर्माता रहनेछन् ।

यो फिल्मलाई राजनीतिक कथामा प्रस्तुत गर्ने तयारी दीपेन्द्रको छ ।

लेखक एवं निर्देशक लामाले भने–‘ फिल्ममा मान्छेको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिनेछ । दर्शकले हास्य, प्रेम र कारुणिकताको आनन्द लिन पाउनेछन् ।’ लामाको यो पाँचौ निर्देशकीय फिल्म हुनेछ ।

उनले, ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।