अंग्रेजी नयाँ वर्षको अवसर पारेर हलमा लाग्यो ‘डिसेम्बर फल्स’, कस्तो गर्ला ओपनिङ ?



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ ।

‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज भएको यो फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । प्रविण झाको निर्देशन रहेको यस फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण टिममा छ ।

मल्टिप्लेक्स हलहरुले फिल्मलाई सुखद् शोज दिएका छन् । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ ।
अभिनेता आर्यन र अभिनेत्री उपासना पनि फिल्मलाई लिएर निकै आशावादी देखिन्छन् । शुक्रबार सार्वजनिक विदा र शनिबार अंग्रेजी नयाँ वर्ष परेकाले पनि फिल्मलाई अवसर देखिन्छ ।

यद्यपि, खासगरी वर्ड अफ माउथ बलियो देखियो भने फिल्मले राम्रो कमाई गर्नेछ । फिल्मले गर्ने ओपनिङको अनुमान भने यसै गर्न सकिँदैन् । फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् । महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

‘डिसेम्बर फल्स’मार्फत आर्यन र उपासनाले फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन् ।