‘ह्यारी कि प्यारी’को गीतमा रेखा थापाको नृत्य



काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकीय फिल्म ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । शिखर सन्तोषकोे संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको गीतमा सपन कुमार राई र मीना निरौलाको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।

अभिनेत्री रेखा थापाले फिल्मको गीत रिलिज कार्यक्रममा बोल्दै लामो समयपछि गेष्ट रोलमा नै भएपनि पर्दामा फर्किन पाएकोमा खुःशी व्यक्त गरिन् । पछिल्लो समय आफू अभिनयसँगै राजनितिमा पनि सक्रिय भएकाले फिल्ममा फर्किन समय लागेको बताइन् । चाँडै आफू मुख्य अभिनेत्रीको रुपमा पर्दामा फर्किने तयारी भैरहेको उनको भनाई छ ।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।