‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री



काठमाडौँ। समुन्द्र भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ । चलचित्रमा समावेश हुने गीतको गत साता छायांकनसँगै इण्डक्ल्याप गरेको चलचित्र निर्माण टिमले यसैसाता दुई सम्झौता गरेको हो ।

अभिनेत्री सुहाना थापा सीईओ रहेको निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’सँग सम्झौता गरेसँगै नेपाली चलचित्र वितरणमा आफ्नो यात्रा थालनी गरेको छ । सुहाना र निर्देशक भट्टले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

चलचित्रको डिजिटल अधिकार भने डिजिटल कम्पनि ओएसआरले खरिद गरेको छ । ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नाजिर हुसैन मुख्य अभिनेता छन् । पारलैङ्गिकताको कथा बोल्ने ‘गुलाबी’मा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।

‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा सम्राट बस्नेत द्वन्द्व निर्देशक छन् भने लेखु सहयात्री र शान भुषालको संगीत समावेश छ । चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन ।