चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखराबाट सुरु



काठमाडौँ। आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ । चलचित्र का निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।
चलचित्रको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएकोे निर्देशक पौडेलले सुनाए । आजबाट मोफसल यात्रामा निस्केको चलचित्रकोे टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको चलचित्र की मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् ।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्ग बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरुको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।