शिक्षा संग्रौला ‘द आउट ल’मा अनुबन्धित



काठमाडौं – आगामी बर्षको दशैं वरिपरी प्रदर्शन गर्ने तयारीका साथ गुपचुप निर्माण थालिएको चलचित्र ‘द आउट ल’को मुख्य अभिनेत्रीमा शिक्षा संग्रौलालाई अनुबन्ध गरिएको छ ।

शिक्षा पपुलर मोडल हुन्, अहिलेसम्म उनलाई कुनै पनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् । निर्माण टिमले उनलाई के–कस्तो भूमिकामा राखेको छ ? अहिलेसम्म खुलाएको छैन ।
निर्माता शशांक खड्काले केही दिनमा चलचित्रको एक पोस्टर सार्वजनिक गरेसँगै चलचित्र निर्माणको घोषणा गर्ने र त्यसपछि मात्रै चलचित्रका बारेमा बोल्न सकिने प्रतिक्रिया दिए ।

मंगलबार वा बुधवार चलचित्रको पोस्टर सार्वजनिक हुँदैछ । यो चलचित्रको आगामी शुक्रवार टिजर सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । शशांक खड्का, अमित अग्रहरी, विनोद कडायत लगायतको लगानीमा निर्माण हुन लागेको चलचित्रलाई विक्की महर्जनले निर्देशन गर्दैछन् ।

निर्माण टिमले केही दिनअघि मात्रै शुशिल श्रेष्ठलाई अभिनेताको रुपमा अनुबन्धित गरेको छ । चलचित्र क्राइम थ्रिलर जनरामा निर्माण हुन लागेको हो ।