चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा



काठमाडौं । चलचित्र हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।

बोर्ड निष्पक्ष हुन नसकेको र चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै बोर्डविरुद्ध आन्दोलनमा उत्रिने निर्णयमा संघ पुगेको हो । बोर्डले व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिनुका साथै झन झन व्यवसायीहरुलाई एकपछि अर्को निर्णयबाट विस्थापित गर्ने खालको गतिविधि हुँदै गएको हुँदा आन्दोलनमा उत्रिन लागेको संघले जनाएको छ ।

बुधबार राजधानीमा आयोजित संघको राष्ट्रिय भेलाले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । भेलापश्चात संघले विज्ञप्ती जारी गर्दै प्रथम चरणको आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ ।

जस अन्तर्गत पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म चलचित्र हलमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने जनाएको छ । संघले दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने साथै चलचित्र विकास बोर्डमा तालाबन्दी गर्ने समेत उल्लेख गरेको छ ।

धर्ना र तालाबन्दीको मिति भने पछि तय गर्ने चलचित्र संघले जनाएको छ ।