प्रदीप भट्टराई : चारवटा फिल्म निर्देशन गरे, चारवटैले हलमा ५१ औं दिन मनाए



काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले शनिबार हलमा प्रदर्शनको ५१ औं दिन मनायो । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको चलचित्र कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको थियो ।

‘महापुरुष’ले ५१ औं दिन मनाएसँगै निर्देशक प्रदीपका चारवटा चलचित्रले हलमा ५१ औं दिन मनाउन सफल भएका छन् । उनले अहिलेसम्म निर्देशन गरेको सबै चलचित्रले हलमा गौरवमय ५१ औं दिन मनाउन सफल भएका हुन् ।

उनले यसअघि निर्देशन गरेका ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले प्रदर्शनको ५१ औं दिन मनाएका थिए ।

राजधानीसहित मोसफलका हलमा अझै प्रदर्शनरत ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । प्रदीपले ‘महापुरुष’ आफ्नो आदरणीय गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लागी गुरुदक्षिणा रहेको बताउँदै आएका थिए । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता म्याक्स दिपेश खत्री हुन् ।

कुनै समय थियो, नेपाली चलचित्रले प्रदर्शनको ५१ औं र एक सय दिन मनाउनुलाई त्यति ठूलो मानिँदैनथ्यो । त्यस बेला थोरै चलचित्रहरू बन्थे, धेरै समयसम्म चल्थे । हिजोआज भने नेपाली चलचित्रलाई हलमा एक साता टिक्न पनि मुस्किल पर्दे आएको छ । यस्तो अवस्थामा चलचित्रले ५१ औं दिन मनाउनु ठूलो सफलता हो । जून सफलता प्रदीपले प्राप्त गरेका छन्, त्यो पनि एउटा चलचित्रबाट होइन्, लगातार अविछिन्न रुपमा ।